काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी ६ चैतमा बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
सभापति थापाको राजीनामाका बारेमा पार्टीले अहिलेसम्म औपचारिक सार्वजनिक नगरे पनि पदाधिकारी तहबाट यसको पुष्टि भइसकेको छ। राजीनामाबारे ६ चैतको बैठकमा यसबारे औपचारिक छलफल हुनेछ। पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा दिने निर्णय सभापतिको व्यक्तिगत अधिकार भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय भने केन्द्रीय कार्यसमितिले गर्नेछ।
ुअबकि बार, सय पारु को महत्त्वाकाङ्क्षी नारासहित गत फागुन २१ गते चुनावी मैदानमा उत्रिएको कांग्रेस यसपटक निकै कमजोर अवस्थामा खुम्चिएको छ । उसले प्रत्यक्ष तर्फ १८ सिट र समानुपातिक तर्फ २० सिट गरि कुल ३८ सिट मात्र जितेको छ । सभापति थापा स्वयम् सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग १२,८५७ मतान्तरले पराजित भए । थापाको नेतृत्वको वैधानिकतालाई लिएर पार्टीभित्र सुरुदेखि नै विवाद रहँदै आएको थियो । गत पुसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा तत्कालिन सभापति शेरबहादुर देउवाको असहमति बीच विशेष महाधिवेशन गरी थापा सभापति चुनिएका थिए ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई ४ माघमा आधिकारिकता दिए पनि देउवा समूहले यसविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन छ।
निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन परिणामको विस्तृत समीक्षा, नेतृत्वको जिम्मेवारी र सांगठनिक कमजोरीको पहिचानका विषयमा समीक्षा हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । यस्तै बैठकमा निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले प्रतिवेदन प्रस्तुति गर्ने बताइएको छ । बैठकमा सभापति थापाको राजीनामाबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया