बालेन सरकारकी कृषिमन्त्री गीता चौधरीद्वारा सिंहदरबारमा पदबहाली

बालेन सरकारकी कृषिमन्त्री गीता चौधरीद्वारा सिंहदरबारमा पदबहाली


काठमाडौ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी ले सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रहेकी अधिवक्ता गीता चौधरी (कैलाली र कञ्चनपुर क्षेत्र)प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा कृषि तथा वन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उहाँलाई स्वागत गर्दै मन्त्रालयका विभिन्न गतिविधिबारे ब्रिफिङ गर्नुभयो ।
पदबहालीका अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्यहरू छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताउनुभयो । उहाँले सावधानीपूर्वक र योजनाबद्ध रूपमा काम गर्ने संकेत दिनुभएको छ ।
नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २५ प्रतिशत योगदान दिँदै आएको छ भने कुल जनशक्तिमध्ये ५० प्रतिशत यस क्षेत्रमा संलग्न छन् । तर, कुल बजेटको मात्र तीन प्रतिशत कृषिमा विनियोजन हुँदै आएकोमा ८० प्रतिशतसम्म खर्च हुने गरेको सचिवद्वयले जानकारी गराउनुभयो । बालेन सरकारमा पाँच महिला मन्त्रीमध्ये एक रहेकी गीता चौधरी थारु समुदायको प्रतिनिधित्व गर्दै मन्त्री बन्नुभएको हो । उहाँले कृषि प्रधान देश नेपालको यो महत्वपूर्ण क्षेत्रलाई आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा जोड दिने अपेक्षा गरिएको छ ।