काठमाडौ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’का रूपमा विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ। पार्टी नेतृत्वले उक्त कदमलाई संस्थागत निर्णय बाहिरको गतिविधि भन्दै आपत्ति जनाएको हो। शनिबार बिहान नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेका थिए। सो विज्ञप्तिपछि पार्टीभित्रै विवाद उत्पन्न भएको हो।
कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले खड्काले पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर विज्ञप्ति जारी गरेको बताए। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने विषय पार्टीको मर्यादा र अनुशासनभित्र रहनुपर्नेमा उनले त्यसको पालना नगरेको आरोप लगाइएको छ।
घिमिरेले भने, “देश संवैधानिक चरण पार गरेर आम निर्वाचनमार्फत अगाडि बढिरहेको छ। पार्टी पनि आफ्नो प्रक्रियाअनुसार अघि बढिरहेको अवस्थामा यसरी व्यक्तिगत रूपमा आधिकारिक हैसियत देखाएर विज्ञप्ति जारी गर्नु पार्टी अनुशासनभित्रको कुरा होइन। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”
उनका अनुसार शनिबार साँझ खड्कासँग फोनमा सामान्य कुराकानी भए पनि आइतबार पदाधिकारी बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकले यस विषयमा औपचारिक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
घिमिरेले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गर्ने तथा समानान्तर गतिविधि गर्ने प्रवृत्ति दोहोरिए कडा निर्णय लिनुपर्ने अवस्था आउन सक्ने संकेत गरे। उनले खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषयसमेत बैठकमा छलफलको एजेन्डा बन्न सक्ने बताए। नेपाली कांग्रेसले यसअघि नै पार्टीका सबै सदस्यले क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य रूपमा गर्नुपर्ने निर्णय गरिसकेको छ। खड्काको पछिल्लो गतिविधिपछि सो प्रक्रियासँग जोडेर अनुशासनात्मक कदम चालिने सम्भावनाबारे पार्टीभित्र छलफल तीव्र भएको बताइएको छ।

प्रतिक्रिया