काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सोमबार दिउँसो ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यो बालेन नेतृत्वको सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक हो । चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका बालेनले सोही दिन पहिलो बैठक बसेका थिए ।
उक्त बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्यसूची पारित गरेको थियो । बैठकले जेन–जेड आन्दोलनको छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने, शिक्षा क्षेत्रमा सुधार (कक्षा ५ सम्म परीक्षा खारेज, क्याम्पसमा राजनीति निषेध), प्रशासनिक सुदृढीकरण लगायतका महत्वपूर्ण निर्णय गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाइ बहुमतसहित गठित १५ सदस्यीय सरकारले पुरानो परम्परा अनुसार सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । आजको बैठकले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, युवा समस्या सम्बोधन तथा थप नीतिगत निर्णय गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री बालेनले युवा नेतृत्वको यो सरकारले देशमा ठोस परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका छन् । बैठकपछि निर्णयहरू सार्वजनिक हुने छन् ।

प्रतिक्रिया