अनामनगरबाट पक्राउ, लिखित कागजपछि छाडियो : स्मृति तिमल्सिना

अनामनगरबाट पक्राउ, लिखित कागजपछि छाडियो : स्मृति तिमल्सिना


काठमाडौं । नेकपा निकट जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहान ११ बजे अनामनगरबाट सादा पोसाकका प्रहरीले “पार्टीका मान्छे हौँ, काम छ” भन्दै उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ लगत्तै उनलाई भद्रकालीस्थित प्रहरी परिसर लगिएको थियो ।स्मृति तिमल्सिनाले आफूलाई सरकारको आलोचना गरेको भन्दै प्रहरीले पक्राउ गरेको दाबी गरेकी छन् । प्रहरीले उनलाई आइन्दा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन लिखित कागज गराएको छ ।

“कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,” तिमल्सिनाले बताइन् । “प्रहरी कार्यालयमा कागज गराएर भर्खरै छाडिएको छ ।”तत्कालीन माओवादी निकट युवा नेता स्मृति तिमल्सिनालाई नेकपाले गत २९ असोजमा जेन(जी रेड फोर्सको संयोजक बनाएको थियो । यो संगठनले देशभर सञ्जाल विस्तार गर्दै गाउँबस्तीका समस्या, जनचेतना र विभिन्न सामाजिक मुद्दामा कार्यक्रम सञ्चालन गर्दै आएको छ

।यो घटनालाई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको अंकुशको रूपमा हेर्ने गरिएको छ । युवा संगठनका कार्यकर्तामाथि प्रहरीको यस्तो कदमले सामाजिक सञ्जालमा सरकार विरोधी आवाज दबाउने प्रयास भइरहेको भन्दै आलोचना समेत सुरु भएको छ ।