कुवेतबाट ३१८ नेपाली र ९ शव चार्टर उडानमा भैरहवा आइपुगे

कुवेतबाट ३१८ नेपाली र ९ शव चार्टर उडानमा भैरहवा आइपुगे


काठमाडौं । कुवेतबाट ३१८ जना नेपाली र ९ वटा शव चार्टर उडानमार्फत नेपाल ल्याइएको छ। विमान साँझ पौने ८ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। कुवेतस्थित नेपाली दूतावासले कुवेतको अदालतले डिपोर्ट गर्न आदेश दिएपछि ती नेपालीलाई स्वदेश फर्काएको जनाएको छ।
विमानस्थलमा अवतरण भएका केही नेपालीले कान्तिपुरसँग कुरा गर्दै कुवेतमा जारी द्वन्द्वका कारण असुरक्षित भएर दूतावासको समन्वयमा नेपाल फर्किएको बताएका छन्। तर, विमानमा आएका केहीले भने कुवेतमा गैरकानुनी रूपमा काम गरिरहेका धेरै नेपाली पनि सोही उडानमा रहेको बताए। सम्पर्कमा आएकी एक महिला कामदारले आफ्नो टिकट कुवेत सरकारले नै काटिदिएको र नेपाल आउने व्यवस्था मिलाइदिएको जानकारी दिइन्।
यो विशेष चार्टर उडान मध्यपूर्वमा बढ्दो तनाव र द्वन्द्वका कारण नियमित उडान प्रभावित भएपछि नेपालीहरूलाई स्वदेश फर्काउन सञ्चालन गरिएको हो। दूतावासले डिपोर्टेड व्यक्तिहरूका साथै द्वन्द्वबाट प्रभावित अन्य नेपालीको समेत सहजीकरण गरेको बताएको छ। गौतमबुद्ध विमानस्थलमा कुवेत एयरवेजको यो चार्टर उडानलाई त्यहाँको अन्तर्राष्ट्रिय सञ्चालनका लागि पनि महत्वपूर्ण मानिएको छ।