सिन्धुली । बिपी राजमार्गको सुनकोशी गाउँपालिका–५ साइटारमा सोमबार दिउँसो माइक्रोबस र बस एकापसमा भीषण टक्कर हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
काठमाडौँबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँ फर्किँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर गम्भीर घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने, ३२ वर्षीय प्रविन तिवारी र ठेगाना नखुलेका प्रशान्त केसी पनि गम्भीर घाइते छन् ।
अन्य घाइतेमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव, ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् । उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बसले ओभरटेक गर्न खोज्दा टक्कर भएको हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया