एजेन्सी। सगरमाथा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी गरिएको संगठित ‘फेक रेस्क्यु’ ठगी प्रकरण विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा चर्चामा आएको छ। यस घटनाले नेपालको उच्च हिमाली पर्यटन (हाइ अल्टिच्युड टुरिजम) को छविमा गम्भीर धक्का पुगेको भन्दै विश्व समुदायमा चिन्ता व्यक्त गरिएको छ। नेपालको पर्वतारोहण क्षेत्रमा हुने ‘फेक रेस्क्यु’ गतिविधिका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा प्रभावित भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। Times of India, The Independent, WION, India Today लगायतका सञ्चारमाध्यमले नेपालका ट्रेकिङ गाइड, हेलिकप्टर कम्पनी र अस्पतालहरूको मिलेमतोमा करिब २० मिलियन अमेरिकी डलर (झण्डै ३ अर्ब रुपैयाँ) बराबरको ठगी भएको विषयलाई प्रमुखताका साथ प्रकाशित गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यु प्रकरणबारे विस्तृत अनुसन्धान गरिरहेको छ। सीआईबीकै अनुसन्धानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सगरमाथा क्षेत्रमा गाइडहरूले नै विदेशी पर्यटकलाई बिरामी भएको देखाएर महँगो हेलिकप्टर उद्धार गर्न बाध्य पार्ने गरेको उल्लेख गरेका छन्। अनुसन्धानका क्रममा शेर्पा गाइड, हेलिकप्टर सञ्चालक र अस्पतालका कर्मचारीहरूको मिलेमतोमा करिब २० मिलियन अमेरिकी डलर बराबरको नक्कली बीमा दाबी गरी ठगी गरिएको खुलेको छ। यस घटनाले नेपालको राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पारेको मात्र होइन, ‘अतिथि देवो भवः’ भन्ने संस्कारमाथि समेत प्रश्न उठाएको विश्लेषण गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पर्यटकलाई कृत्रिम रूपमा बिरामी बनाउने विभिन्न तरिका अपनाइएको आरोप छ। कतिपय अवस्थामा पर्यटकको खानामा गोप्य रूपमा अखाद्य पदार्थ मिसाएर वाकवाकी लाग्ने र पेट फुल्ने जस्ता लक्षण देखिने अवस्था बनाइन्थ्यो। यस्ता लक्षण देखिएपछि पर्यटकहरू आफूलाई ‘अल्टिच्युड सिकनेस’ भएको ठानेर उद्धारका लागि सहमत हुने गरेका थिए। त्यसपछि गाइडहरूले पर्यटकलाई तत्काल हेलिकप्टर उद्धार नगरे ज्यान जान सक्ने डर देखाउँदै महँगो उद्धारका लागि राजी गराउने गरेको बताइएको छ। एउटै हेलिकप्टरमा धेरै पर्यटक ल्याइए पनि बीमा कम्पनीसँग भने प्रत्येकका लागि छुट्टाछुट्टै चार्टर उडान गरिएको नक्कली कागजात तयार पारेर दाबी गरिने गरेको अनुसन्धानले देखाएको छ। चार हजार अमेरिकी डलरको उडानलाई १२ हजार अमेरिकी डलरसम्म देखाएर बीमा कम्पनीबाट रकम असुल्ने गरिएको तथ्य सार्वजनिक भएको छ।
अस्पतालहरूको भूमिका पनि शंकास्पद रहेको अनुसन्धानमा उल्लेख गरिएको छ। कतिपय अस्पतालहरूले नक्कली मेडिकल रेकर्ड, डिजिटल हस्ताक्षरको दुरुपयोग तथा झूटा भर्ना रिपोर्ट तयार पारेर बीमा कम्पनीहरूलाई अत्यधिक बिल पठाउने गरेको तथ्य फेला परेको छ। कतिपय अवस्थामा पर्यटक सामान्य अवस्थामा अस्पताल परिसरमै रहे पनि उनीहरूको नाममा गम्भीर बिरामीको रूपमा बिलिङ गरिने गरेको विवरण सार्वजनिक भएको छ। सन् २०२२ देखि २०२५ को अवधिमा मात्रै यस्ता ३०० भन्दा बढी फेक रेस्क्युका घटना भएको जनाइएको छ। यसबाट झण्डै ४ हजार ७८२ अन्तर्राष्ट्रिय आरोहीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ। संकलित रकमको २० देखि २५ प्रतिशतसम्म ट्रेकिङ एजेन्सी, गाइड र हेलिकप्टर कम्पनीहरूबीच कमिसनको रूपमा बाँडफाँट हुने गरेको पनि अनुसन्धानले देखाएको छ।
हालसम्म फेक रेस्क्यु प्रकरणमा संलग्न ३२ जनाविरुद्ध संगठित अपराध तथा ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ। तीमध्ये केही व्यक्तिहरू पक्राउ परेका छन् भने कतिपय अझै फरार रहेका छन्। सीआईबी प्रमुख Manoj Kumar KC का अनुसार विगतमा यस्ता अपराधमा कडा कारबाही नहुँदा यो अवैध धन्दा फैलिन पुगेको हो। विदेशी बीमा कम्पनीहरूले नेपाल आएका पर्यटकबाट अस्वाभाविक रूपमा धेरै बीमा दाबी आउन थालेपछि फेक रेस्क्युको जालोबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ। यस प्रकरण सार्वजनिक भएसँगै नेपालको पर्यटन क्षेत्रमा पारदर्शिता र कडा नियमन आवश्यक भएको विज्ञहरूले औँल्याएका छन्। विशेषगरी सगरमाथा क्षेत्रमा सञ्चालन हुने ट्रेकिङ, हेलिकप्टर सेवा र स्वास्थ्य सेवामा प्रभावकारी अनुगमन तथा कडा कारबाही नगरे पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया