कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरूले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको समानान्तर बैठक तथा छलफलमा सहभागी नहुने निर्णय गरेका छन् । उनीहरूले पार्टीभित्रको विवाद समाधानका लागि संवादको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।कोइराला पक्षका नेताहरूले सर्वोच्च अदालतले आइतबार तोकेको पेसी स्थगित भएपछि अब अदालतको प्रतीक्षा गर्न नहुने निष्कर्ष निकालेका छन् । अघिल्लो केन्द्रीय कार्यसमितिका सहमहामन्त्री जीवन परियारले भने, “अब अदालतको प्रतीक्षा पनि सकियो । अर्को तारिख कुरेर पार्टीलाई थप क्षति हुन दिनुहुँदैन । पार्टी एकताका लागि संवादको थालनी गर्नुपर्छ ।”
परियारले शेखर कोइराला पक्ष पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताए । उनले भने, “एकताका लागि संवादको नेतृत्व सभापति गगन थापाले लिनुपर्छ । शेखर कोइरालाले पनि पार्टी एकताकै लागि संघर्ष गरिरहेको बताउँदै आउनुभएको छ । अलग्गिएर होइन, सम्पूर्ण एकतामा मात्रै पार्टीको भविष्य छ ।”२७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले २ माघमा मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले ४ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त मुद्दाको पेसी आइतबार तोकिए पनि सुनुवाइ स्थगित भएको थियो ।
देउवा पक्षले निर्वाचनपछि संस्थागत रूपमा समानान्तर गतिविधि गर्दै आएको आरोप छ । केन्द्रीय अनुशासन समितिले गत १८ चैतमा खड्कालाई सचेत गराउँदै समानान्तर गतिविधि दोहोरिए कारबाही गर्ने चेतावनी दिएको थियो । शेखर कोइराला पक्षले अब अदालतको फैसला कुर्नुभन्दा पहिले नै संवादबाट विवाद समाधान गर्नुपर्ने अडान लिएको छ । यसले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व नयाँ मोड लिन सक्ने देखिएको छ ।

प्रतिक्रिया