भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बन

भृकुटी स्टक ब्रोकिङ कम्पनी निलम्बन


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीको कारोबार निलम्बन गर्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।

बोर्डका एक सदस्यका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्रीबाट प्राप्त रकम ग्राहकलाई नदिई सोही रकमबाट विवादास्पद व्यवसायी दीपक भट्टलाई शेयर खरिद गराएको आरोप छ । नियामक निर्देशन उल्लंघन गर्दै कानुनविपरीत कारोबार गरेको, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा शेयर कारोबार गराएको पाइएको छ । यो प्रकरणले विद्यमान नियमअनुसार आवश्यक मार्जिन नलिइएको र वित्तीय जोखिम बढाएको निष्कर्ष बोर्डले निकालेको छ ।

निलम्बनसँगै भृकुटी स्टक ब्रोकिङले अब अर्को आदेश नआउँदासम्म शेयर खरिदबिक्री गर्न पाउने छैन । यसबाट देशभरिका हजारौं ग्राहकहरू प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूको लगानी जोखिममा परेको छ भने कारोबार रोक्का हुँदा ठूलो असुविधा भएको छ ।