काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर विभागले देउवा दम्पतीको चलअचल सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । विभागका अनुसार देउवा परिवारको सम्पत्ति छानबिन गर्दा अस्वाभाविक आर्जन देखिएको छ । विशेष गरी उनीहरूका छोरा जयवीर सिंह देउवाले काठमाडौं उपत्यका र बाहिर किनेको करिब ७३ रोपनी जग्गाको स्रोत शंकास्पद छ । बुढानिलकण्ठस्थित घरजग्गा, बैंक खाता र अन्य सम्पत्तिमाथि पनि अनुसन्धान भइरहेको छ ।
यो अनुसन्धान नेपाल टेलिकमको बिलिङ मर्मत–सम्भार ठेक्का प्रकरण, नक्कली शरणार्थी प्रकरण लगायतका विभिन्न भ्रष्टाचार उजुरीसँग जोडिएको विभाग स्रोतले बताएको छ । राजनीतिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ । देउवा दम्पती हाल उपचारका लागि हङकङमा छन् । देउवाका स्वकीय सचिव भानु देउवाले अनुसन्धानबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार प्राथमिक फौजदारी कसुरबिना मात्र सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न मिल्दैन । विभागले थप प्रमाण संकलन गर्दै अनुसन्धानलाई तीव्रता दिएको छ । यो प्रकरणले नेपाली राजनीतिमा ठूलो चर्चा पाएको छ ।

प्रतिक्रिया