काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र परिवारविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अनुसन्धानलाई झुटो र भ्रामक प्रचार भनेका छन् । बुधबार साँझ फेसबुकमा वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, “म र मेरो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको छ ।” उनले सार्वजनिक पदमा रहँदा कानुनबमोजिम सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा नियमित पेस गर्दै आएको बताएका छन् ।
“मेरो जीवन एउटा खुला पुस्तक हो,” देउवाले लेखेका छन्, “मैले जीवनभर लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि संघर्ष गरेको छु ।” उनले २०४८ मा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री कालमा २०५९ मा भ्रष्टाचार निवारण ऐन ल्याउन अग्रसरता लिएको स्मरण गराए । हाल दीर्घकालीन उपचारका लागि विदेशमा रहेका देउवाले भ्रममा नपर्न र वास्तविकता समयले खोल्ने बताएका छन् ।
सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण प्रक्रिया अघि बढाएपछि उनको यो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया