कांग्रेस सभापति गगन थापाद्धारा पुराना सबै क्रियाशील सदस्यता खारेजको घोषणा

कांग्रेस सभापति गगन थापाद्धारा पुराना सबै क्रियाशील सदस्यता खारेजको घोषणा


जनकपुरधाम। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको औपचारिक घोषणा गर्नुभएको छ । बुधबार मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताउनुभयो ।

सभापति थापाले भन्नुभयो, “पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भइसकेका छन् । अब वैशाख १ गतेदेखि म आफैँले आफ्नै वडाबाट नयाँ सदस्यता लिएर ‘जरा अभियान’ सुरु गर्नेछु ।” उहाँले देशभर वडा तहदेखि नै पार्टी संगठन पुनर्गठित गर्ने योजना रहेको स्पष्ट पार्नुभयो ।

सभापति थापाले पार्टीभित्रको अन्तरघात र गुटबन्दी अन्त्य गर्न संख्याभन्दा गुणस्तरमा जोड दिनुपर्नेमा जोड दिनुभयो । “हामीलाई १० लाख कागजी सदस्यको आवश्यकता छैन, एक लाख अनुशासित र काम गर्ने सक्रिय सदस्य भए पुग्छ,” उहाँले भन्नुभयो, “जसले भविष्यमा फेरि अन्तरघातको सामना गर्न नपरोस् ।”

उहाँले कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरू वर्षौंदेखि तदर्थवादमा चलेको र पुराना नेताहरूले कब्जा जमाएको आरोप लगाउनुभयो । अब नयाँ पुस्तालाई अवसर दिने गरी विधान संशोधन गरिने उहाँको भनाइ छ । स्थानीय तथा प्रदेश सरकारमा रहेका मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन समीक्षा गर्न उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा छिट्टै टोली गठन गरिने पनि थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचन परिणाम अप्रत्याशित रहेको स्वीकार गर्दै पार्टीको कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा मधेसका आठै जिल्लाका सभापतिहरूले संगठनात्मक अवस्थाबारे विस्तृत रिपोर्टिङ गरेका थिए ।

यो घोषणालाई कांग्रेसभित्रको ‘संगठनात्मक क्रान्ति’को रूपमा हेरिएको छ । पार्टी नेतृत्वले पुरानो संरचनालाई पूर्ण रूपमा खारेज गरी आधारभूत तहबाट नयाँ ढङ्गले निर्माण गर्ने प्रयास गरेको हो । तर यो अभियानलाई पुराना नेता र कार्यकर्ताहरूले कसरी लिन्छन् भन्ने प्रश्न भने बाँकी छ । यदि ‘जरा अभियान’ सफल भयो भने नेपाली कांग्रेसले नयाँ उर्जा र गति प्राप्त गर्न सक्नेछ ।