काठमाडौ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता विवाद टुङ्गो नलाग्दासम्म १५औँ महाधिवेशनको नयाँ कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेसी तोकिएको छ । देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट वारेस अधिवक्ता श्रवणकुमार श्रेष्ठले चैत २५ गते दायर गरेको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।
अधिवक्ता लक्ष्मी रावलले महाधिवेशन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको बताइन् । रिटमा उल्लेख छ– २०८२ पुस २७ देखि ३० सम्म गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देउवाको असहमतिमा विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो । निर्वाचन आयोगले माघ २ गते उक्त समितिलाई विधानविपरीत अद्यावधिक गरेको दाबी गर्दै देउवा पक्षले आधिकारिकता विवादको रिट दायर गरेको थियो । उक्त मुद्दा अझै विचाराधीन रहेको अवस्थामा गगन थापा पक्षले एकतर्फी रूपमा १५औँ महाधिवेशनको तयारी अघि बढाएको भन्दै देउवा पक्षले आपत्ति जनाएको छ ।
गगन थापा नेतृत्वको समितिले २०८३ असोज १६–१९ मा महाधिवेशन गर्ने निर्णय गर्दै ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । तर देउवा पक्षले भने २०८३ वैशाख २८–३१ मा महाधिवेशन गर्ने पहिले नै तयारी गरिसकेको जनाएको छ । रिटमा उत्प्रेषण, प्रतिषेध र परमादेश माग गर्दै आधिकारिकता विवादको फैसला नभएसम्म सबै प्रक्रिया रोक्न माग गरिएको छ । मुद्दा विचाराधीन रहेकै बेला ठूलो हिस्सालाई बाहिर राखेर एकतर्फी निर्णय गर्नु गैरकानुनी भएको देउवा पक्षको जिकिर छ । आजको पेसीमा अदालतले अन्तरिम आदेश दिन सक्ने सम्भावना छ ।

प्रतिक्रिया