‘विगतका कटुता बिर्सेर सुशासन र समृद्धिका लागि एकजुट होऔं’

‘विगतका कटुता बिर्सेर सुशासन र समृद्धिका लागि एकजुट होऔं’


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रभावकारी सेवाप्रवाहलाई राज्यको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवाप्रवाह, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय तथा तीव्र आर्थिक–सामाजिक विकासको अपेक्षा गरेको उल्लेख गरे। उनले संसद्ले नागरिककेन्द्रित तथा जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने र बनेका कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए। न्यायपालिकाबाट छिटोछरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो सम्मान हुने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा मतदातालाई धन्यवाद दिएका छन्।
उनले अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर संवैधानिक व्यवस्था कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राज्य संयन्त्रलाई लयमा ल्याउने, भ्रष्टाचार न्यूनीकरण गर्ने तथा सेवाप्रवाह सुधार गर्ने कार्य प्रशंसनीय भएको बताए। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले युवाहरूको बढ्दो अपेक्षा र बदलिँदो चाहनालाई सम्बोधन गर्न शैक्षिक प्रणालीमा सुधार आवश्यक रहेको बताए। विदेश पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरेर देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्दै श्रमिकलाई उचित प्रतिफल उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए। निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने उल्लेख गर्दै युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशा हटाउन विशेष कार्यक्रम ल्याउनुपर्ने बताए।

राष्ट्रपति पौडेलले सार्वजनिक सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन ढिलासुस्ती र अनियमितता अन्त्य गर्नुपर्ने तथा नागरिकले घरदैलोमै सरकारको अनुभूति गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने धारणा व्यक्त गरे। उनले विश्वमा देखिएको द्वन्द्व र अस्थिरताको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्र राष्ट्रसँग सन्तुलित र पारस्परिक सम्मानमा आधारित कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने बताए।

जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए। सम्बोधनको अन्त्यमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, राजनीतिक दल र राज्य संयन्त्र एकजुट भई अघि बढ्न आह्वान गरेका छन्।