कांग्रेस क्रियाशील सदस्य वडामा पुगेर शपथ खानुपर्ने अनिवार्य व्यवस्था

कांग्रेस क्रियाशील सदस्य वडामा पुगेर शपथ खानुपर्ने अनिवार्य व्यवस्था


काठमाडौँ । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर ‘क्रियाशील सदस्यता अद्यावधिक तथा वितरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा पारदर्शी, डिजिटल र जिम्मेवार बनाउने लक्ष्यका साथ पुरानो प्रणालीमा व्यापक परिवर्तन गरेको हो । अब क्रियाशील सदस्यता लिन वा नवीकरण गर्न चाहने व्यक्ति  स्वयम्  सम्बन्धित वडा कार्यसमितिमा पुग्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । अरूले फारम भरिदिने, शुल्क तिरिदिने वा प्रतिनिधि पठाउने पुरानो चलन अब पूर्ण रूपमा अन्त्य भएको छ ।

महामन्त्री प्रदीप पौडेलले भने, “क्रियाशील सदस्य लिन चाहने व्यक्ति आफैं वडा कार्यसमितिमा पुगेर फोटो खिचाउनुपर्छ, मोबाइल नम्बर अनिवार्य दिनुपर्छ । त्यसमा OTP आउँछ र पासवर्डका आधारमा भेरिफाई हुन्छ । परम्परागत कार्डको सट्टा अब डिजिटल ‘कांग्रेस आइडी’ दिइनेछ ।”  पार्टीले वैशाख १ गतेदेखि पूरै महिनाभर ६ हजार ७ सय ४३ वटै वडामा यो अभियान सञ्चालन गर्ने निर्णय केन्द्रीय समितिले गरिसकेको छ । हालसम्म क्रियाशील रहेका सबै सदस्यले पनि वैशाखमा गएर नयाँ फारम भर्नुपर्ने भएको छ । वैशाखमा अद्यावधिक गर्ने सदस्यहरूको नाम मात्र आगामी असोजमा हुने १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको रूपमा कायम रहनेछ ।

सभापति गगन थापाले आफ्नै उदाहरण दिँदै भने, “म काठमाडौं वडा नम्बर ३० बाट क्रियाशील सदस्य छु । भर्खरै शुल्क तिरेर नवीकरण गरेको थिएँ । तर वैशाखमा म फेरि वडा कार्यसमितिमा गएर फोटोसहित फारम भर्नुपर्छ । त्यसपछि मात्र नयाँ कांग्रेस आइडी पाउँछु ।”

क्रियाशील सदस्यता शुल्क रु. २०० तोकिएको छ । तर हालै नवीकरण गरेका सदस्यले फेरि शुल्क तिर्नु पर्दैन । अभियानको मुख्य उद्देश्य “थोरै तर सच्चा र प्रतिबद्ध” सदस्य कायम राख्नु रहेको नेताहरूले बताएका छन् । १४औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य रहेका थिए । तर धेरैजसो सदस्यले महाधिवेशन नजिकिएपछि मात्र नवीकरण गर्ने गरेका थिए ।

अब प्रत्येक क्रियाशील सदस्यले  शपथ पनि लिनुपर्ने भएको छ । कांग्रेस आइडी लिएलगत्तै वडा कार्यसमितिमै शपथ ग्रहण गर्ने व्यवस्था छ । शपथको व्यहोरा छ – “म नेपाली कांग्रेसको सिद्धान्त, आदर्शप्रति प्रतिबद्ध रहेर पार्टीको अभियानमा इमान्दारीपूर्वक सहभागी हुनेछु ।”

यो व्यवस्थाले सदस्यहरूलाई पार्टीप्रति जवाफदेही बनाउने र अर्को पार्टीको पक्षमा काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । सभापति थापाले भने, “जो वैशाखमा अद्यावधिक गर्न वडा पुग्दैनन्, उनीहरूको नाम अभिलेखमा रहन्छ तर १५औं महाधिवेशनमा भाग लिन पाउने छैनन् ।”

पार्टीका अनुसार यो अभियानले सदस्यता व्यवस्थापनलाई डिजिटल बनाउने, दोहोरो सदस्यता हटाउने र संगठनलाई मजबुत बनाउने काम गर्नेछ । प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठकहरूमा पनि सभापति थापाले यो विषयलाई प्रमुखताका साथ उठाइरहेका छन् ।

नेपाली कांग्रेसले वैशाखलाई ‘सदस्यता शुद्धीकरण’ को महिना बनाएको छ ।