अमरेशविरूद्ध रास्वपा कार्यकर्ताले लगाए मुर्दावादको नारा

अमरेशविरूद्ध रास्वपा कार्यकर्ताले लगाए मुर्दावादको नारा


जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताहरुले विरोध गरेका छन्। सोमबार सिंह प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका प्रमुखहरूसँग छलफलमा व्यस्त रहँदा बाहिर कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

स्थानीय नेता–कार्यकर्तासँग कुनै समन्वय नगरी एक्लै सरकारी तहमा छलफल गरेको आरोप लगाउँदै उनीहरूले सिंहविरुद्ध हल बाहिर प्रदर्शन गरेका हुन्। कार्यकर्ताहरुले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाउँदै असन्तोष प्रकट गरे। अवस्था तनावपूर्ण बन्दै जाँदा बैठक कक्षमै प्रवेश गर्न खोजेका कार्यकर्तालाई सुरक्षाकर्मीहरूले रोकेका थिए।

विरोध प्रदर्शनमा रास्वपाका स्थानीय नेता तथा कार्यकर्तहरु सहभागी थिए। एक सुरक्षाकर्मीका अनुसार स्थिति नियन्त्रणमै रहेको भए पनि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।