गगन थापाले भने- ‘सक्ने साथीहरूले सहयोग गर्नुहोस्, नसक्नेले डिस्टर्ब नगर्नुहोस्’ (भिडियो)

गगन थापाले भने- ‘सक्ने साथीहरूले सहयोग गर्नुहोस्, नसक्नेले डिस्टर्ब नगर्नुहोस्’ (भिडियो)


काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई क्रियाशील सदस्य मान्यता नदिइने स्पष्ट चेतावनी दिएका छन् ।  ‘जरा अभियान’ अन्तर्गत ‘ग्रान्ड रिफर्म’ कार्यक्रमको सुरुवात गर्दै सभापति थापाले सदस्यता प्रणालीलाई व्यवस्थित, पारदर्शी र डिजिटल बनाउने अभियान अघि बढाएका हुन् । उनले वैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरूले आफ्नो वडा कार्यालयमा गएर सदस्यता अद्यावधिक गर्नुपर्ने अनिवार्य निर्देशन दिएका छन् ।

“यो पार्टी विधानअनुसार आवश्यक र अनिवार्य प्रक्रिया हो,” थापाले भने, “आफ्नो वडाबाटै प्रक्रिया सुरु गर्नुहोस् । दोलखा, गोरखा, रोल्पा लगायत जिल्लाका सदस्यहरूले पनि आफ्नो ठाउँमा फर्केर अद्यावधिक गर्नुहोस् ।”

उनले सदस्यता अद्यावधिक प्रक्रिया पूर्ण रूपमा डिजिटलाइज गरिएको बताए । “स्वयं फर्म भरेपछि प्रणालीमा इन्ट्री हुन्छ र ओटीपी मार्फत प्रक्रिया पूरा हुन्छ,” उनको भनाइ छ । सदस्यतासम्बन्धी भ्रम र अफवाह नफैलाउन पनि उनले आग्रह गरेका छन् । कुनै जिज्ञासा भए केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे ।

देउवा–खड्का पक्षप्रति तीखो जवाफ

हिजो पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै कसैले सदस्यता खारेज गर्न नसक्ने दाबी गरेका थिए । देउवा पक्षले यो अभियानको विरोध गर्दै आएको छ ।

सभापति गगन थापाले यसमा कडा प्रतिक्रिया दिए । उनले भने, “कसैले केही कुरा बुझ्नुभएको छैन । केन्द्रीय कार्यालय आइदिनुहोस्, जिम्मेवार साथीहरूले बुझाइदिनुहुन्छ । बाहिर अनावश्यक कोलाहल मच्चाउने काम नगर्नुहोस् । कसैले सदस्यता खोस्न सक्दैन ।”

थापाले थप भने, “सक्ने साथीहरूले सहयोग गर्नुहोस्, नसक्नेले डिस्टर्ब नगर्नुहोस् ।”   यो अभियानले कांग्रेसको सदस्यता प्रणालीलाई स्वच्छ र आधुनिक बनाउने लक्ष्य राखेको छ ।