शेखर र शशांक पक्षधर पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय

शेखर र शशांक पक्षधर पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय


काठमाडौँ।  नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निर्णय गरेका छन्। कोइराला पक्षका नेताहरूबीच आइतबार बिहान काठमाडौँको विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

छलफल नेता शेखर कोइरालासँग समन्वय गरी निवर्तमान उपसभापति धनराज गुरूङले आयोजना गरेका थिए। शेखर कोइराला भने विराटनगरमा रहेका कारण उक्त छलफलमा सहभागी हुन सकेका थिएनन्। छलफलमा पूर्वमहामन्त्री शशांक कोइरालासहित उनी निकटका नेता तथा सांसदहरूको उपस्थिति रहेको थियो।

निवर्तमान उपसभापति गुरूङका अनुसार छलफलले लोकतन्त्र र न्यायपालिकाको सम्मान गर्दै सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र पार्टीको एकता मजबुत बनाउने निष्कर्ष निकालेको हो। उनले लोकतन्त्रमा विश्वास गर्नेहरूले न्यायालयको निर्णय मान्नु अनिवार्य भएको उल्लेख गर्दै आफूहरू सधैँ स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै आएको बताए। उनले पार्टीलाई सुधार गर्दै सुदृढ बनाउने जिम्मेवारी सबै नेताहरूमा रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। गुरूङले अदालतको फैसला स्वीकार गरिसकेपछि पार्टी नेतृत्वबारे विवाद नरहने पनि स्पष्ट पारे।

छलफलमा निवर्तमान उपसभापति धनराज गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव र सीता थपलियालगायत सहभागी थिए।

छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गर्दै आगामी दिनमा सोही नेतृत्वमा पार्टीलाई अघि बढाउने निर्णय पनि गरेको छ। गत पुस महिनामा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा तथा शेखर र शशांक कोइराला पक्ष सहभागी भएका थिएनन्। तर सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि नेतृत्व स्वीकार गर्ने निर्णय गरिएको हो।

यस्तै, कोइराला पक्षले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले धुम्बाराहीमा आयोजना गरेको छुट्टै छलफलमा सहभागी नहुने निर्णय पनि गरेको छ। यसअघि खड्का निवासमा भएको छलफलमा समेत कोइराला पक्ष सहभागी भएको थिएन। नेताहरूले अब आन्तरिक विवादलाई अन्त्य गर्दै पार्टी एकतालाई सुदृढ बनाउने र संगठनलाई सशक्त बनाउने दिशामा केन्द्रित हुने बताएका छन्।