पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

 पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष


काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेला बसेको हो।

भेलापछि नेता कुन्दनराज काफ्लेले सर्वोच्च अदालतको निर्णयपछि पार्टी अब कसरी अगाडि बढ्ने भन्ने विषयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच छलफल सुरु गरिएको जानकारी दिए। उनका अनुसार छलफलमा नेपाली कांग्रेसले विगतमा भोग्दै आएको उतारचढाव तथा हालको राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो।

काफ्लेले पार्टीभित्र एकता कायम गर्न सबै नेता तथा कार्यकर्ताको आत्मबल बढाउन आवश्यक रहेको विषयमा पनि जोड दिइएको बताए। उनले पार्टीभित्रको असन्तुष्टि समाधान गर्दै रिसाएका नेता–कार्यकर्तालाई पुनः जोड्ने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले पार्टीमा क्रियाशील सदस्यको संख्या बढी हुँदाहुँदै पनि निर्वाचनमा अपेक्षित मत किन प्राप्त हुन सकेन भन्ने विषयमा समेत छलफल भएको बताए। साथै, जनतामा किन असन्तुष्टि बढ्यो र किन साना दलहरू बलिया बन्न थाले भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको धारणा उनले व्यक्त गरे।

काफ्लेले पार्टी एकताको वातावरण बनाउन सानेपास्थित केन्द्रीय कार्यालयमा खुला संवादको वातावरण तयार गर्नुपर्ने बताए। उनका अनुसार नेतृत्वले सबै पक्षका नेताहरूलाई आफ्ना धारणा राख्ने अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।

‘सानेपाको भित्तामा गएर कराएर मात्रै समस्या समाधान हुँदैन, कुरा राख्ने ठाउँ खुला हुनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र नमिल्ने कुनै कारण छैन, स्वाभिमानको कुरा छ तर त्यसलाई सम्बोधन गर्ने जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ।’

भेलामा सहभागी नेताहरूले अब पार्टीभित्रको आन्तरिक मतभेद समाधान गर्दै एकता सुदृढ गर्ने र संगठनलाई बलियो बनाउने दिशामा छलफललाई निरन्तरता दिने बताएका छन्।