अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली युवती मृत फेला

अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली युवती मृत फेला


सान फ्रान्सिस्को। अध्ययनका लागि अमेरिका पुगेकी एक नेपाली युवती सान फ्रान्सिस्कोमा मृत अवस्थामा फेला परेकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्नियाले प्रमिला त्रिपाठी भुर्तेलको निधन भएको पुष्टि गरेको छ।

करिब पाँच वर्षअघि अध्ययनका लागि अमेरिका पुगेकी प्रमिला सान फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्दै आएकी थिइन्। एनआरएनए क्यालिफोर्नियाले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उज्ज्वल भविष्यको खोजीमा उनले निकै संघर्ष गरेको उल्लेख गरेको छ। प्रमिला एक सन्तानकी आमा रहेको र उनी आफैंले बच्चा हुर्काउँदै आएको जनाइएको छ। उनका श्रीमान् कहाँ छन् भन्नेबारे भने हालसम्म स्पष्ट विवरण सार्वजनिक भएको छैन। उनको स्थायी ठेगाना पोखरा रहेको बुझिएको छ।

प्रमिलाको निधनपछि क्यालिफोर्नियास्थित नेपाली समुदायले गहिरो चिन्ता र शोक व्यक्त गरेको छ। अन्त्येष्टि व्यवस्थापन, शिशुको हेरचाह तथा परिवारलाई सहयोग पुर्‍याउन समुदायले आर्थिक सहयोग संकलन सुरु गरेको जनाएको छ।एभरेष्ट बिजनेस रोडम्यापका सीईओ युवराज कार्कीले घटनाको पुष्टि गर्दै नेपाली विद्यार्थीलाई विदेश पठाउँदा अभिभावकहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार प्लस टू पछि अमेरिका पुगेकी प्रमिला विश्वविद्यालय अध्ययन पूरा गर्न नसकेको अवस्थाका कारण विभिन्न चुनौतीको सामना गरिरहेकी हुनसक्ने संकेत देखिएको छ।

हाल एनआरएनए क्यालिफोर्नियाले अन्त्येष्टि व्यवस्थापन, बालकको भविष्य सुरक्षित गर्ने तथा परिवारलाई सहयोग जुटाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। यसैबीच सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससँग सम्पर्क गर्ने प्रयास भइरहेको बताइएको छ।