काठमाडौं । आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन् ।
राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उनले लेखेका छन्, “मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामावाद जाँदैछन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।”
पाकिस्तानी अधिकारीहरूले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।
सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् । “नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा लेखेका छन् ।
इरान र अमेरिकाबीच जारी गतिरोधका कारण ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरूद्ध गरिएको छ । तेहरानले हर्मुज जलमार्गलाई पुनः खोल्ने घोषणा शुक्रबार गरेको थियो र यसले विश्व बजारमा उत्साह बढाएको थियो । यद्यपि, शनिबार फेरि समुद्री यातायातका लागि त्यो मार्ग बन्द भएको इरानले घोषणा गरेको छ ।
अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि मध्यस्थताको प्रयास जारी रहँदा इरानले अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य नगरेसम्म महत्वपूर्ण समुद्री व्यापार मार्ग नखोल्ने बताएको हो।

प्रतिक्रिया