सेयर बजारमा हरियाली छाएपनि डेढ अर्बको मात्र कारोबार

सेयर बजारमा हरियाली छाएपनि डेढ अर्बको मात्र कारोबार


काठमाडौं।

आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ ।

यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ ।

४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेका सबै उपसमूहहरु हरियाली भएका छन् ।

मौद्रिक नीतिपछि करिब डेढ महिना लगातारजसो घटेको बजार बल्ल सम्हालिने सम्भावना देखिएको हो । नीतिगत अवरोध, चर्को ब्याजदर लगायतका कारणले बजार घटेको थियो ।

अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो ।

सोमबार २१२ कम्पनीमा हरियाली छाउँदा ११ कम्पनीका सेयर मूल्य घटेका छन् । ५ वटा कम्पनीका सेयर मूल्य भने स्थिर रहे ।