काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले यूएईलाई हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको २५५ रनको लक्ष्य पछ्याएको यूएई २४८ रनमा रोकियो ।
२९० रनको लक्ष्य पाएपनि ४.१ ओभरमा नेपालका नन्दन यादवले यूएईका अदिब उस्मानीकोे विकेट लिएसँगै खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि पुनः सुचारु भएको खेलमा डीएलएस विधिद्धारा नयाँ लक्ष्य तय गरिएको थियो ।
यूएईका लागि मुहम्मद शाहदादले अर्धशतकीय पारी खेले । उनले ६५ रन बनाए । हर प्रितसिंहले ४१ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी, नन्दन यादवले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले नेपालले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २८९ रन बनाएको थियो । यद्यपि, जितका लागि पर्याप्त हुन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय र विनोद भण्डारीले अर्धशतकीय पारी खेले ।
दीपेन्द्रले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १०० रनको योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा दीपेन्द्रको यो दोस्रो शतक हो । विनोदले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रन जोडे । गुल्शन झाले ४४ रन बनाए ।
छैठौं विकेटका लागि ७८ बलमा गुल्शन र दीपेन्द्रले १०२ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले ३९ र अर्जुन कुमाल तथा आरिफ शेखले ११–११ रन बनाए । भीम सार्की भने डकआउट भए ।
यूएईका लागि अजय कुमार र जुनैद सिद्दिकीले २–२ तथा खुजैमा तनवीरले र हैदर अलिले १–१ विकेट लिए ।
लिग–२ मा शीर्ष ४ मा रहने टिम विश्वकप छनोटमा स्वत पुग्ने छन् । लिग–२ मा सहभागी ८ टिमले कुल ३६ खेल खेल्ने छन् । जसमध्ये, नेपाल र यूएईले २३–२३ खेल खेलिसकेका छन् ।
अब, नेपालले आफ्नो अर्को खेलमा मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया