लुम्बिनी। पूर्वी पाल्पा समाज रुपन्देहीले गाउँ र सहरबीचको सम्बन्धलाई सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने कार्यक्रम अघि बढाएको छ ।
‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाजले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ–सहर सहकार्यको नयाँ मार्ग चित्रसमेत अघि सारेको जनाएको छ । समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोषले यसको सामाजिक उत्तरदायित्व दृष्टिकोण प्रस्तुत गरेको समाजका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले बताउनुभयो । उहाँले समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषमा हालसम्म रु १० लाख सङ्कलन भइसकेको समेत जानकारी दिनुभयो ।
संस्थापक अध्यक्ष श्रेष्ठका अनुसार सबै सदस्यको रु एक लाख बराबरको बिमा गरिएको छ भने आगामी दिनमा रोटरी क्लबसँगको सहकार्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । ‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने भावनालाई मूर्तरूप दिन समाजले ‘प्रगतिको आधारः बुटवल–रामपुर कारोबार’ अभियान पनि सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत गाउँका उत्पादन सहरमा र सहरको पुँजी गाउँमा प्रवाह गर्ने लक्ष्य लिइएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
समाजको बुधबार बुटवलमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद सन्दीप रानाले समाजले देखाएको सक्रियता र जन्मभूमिप्रतिको समर्पणको प्रशंसा गर्नुभयो । उहाँले जहाँ रहे पनि आफ्नो ठाउँका लागि योगदान गर्नुपर्नेमा जोड दिँदै समाजसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताउनुभयो ।
त्यस्तै मणिमुकुन्द सेन उद्यान परिषद्का अध्यक्ष माधव नेपालले सामाजिक काममा निरन्तर सक्रिय रहने संस्थालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अधिवेशनका अवसरमा वरिष्ठ फिजिसियन डा पुष्पराज जोशीले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिनुभयो । लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राध्यापक रोमनाथ शर्माले क्षमता अभिवृद्धि विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय समिति सभापति राजु श्रेष्ठ, रामपुर नगर प्रमुख रमणबहादुर थापा, रोटरी क्लब अफ रामपुरका कृतनाथ श्रेष्ठ तथा उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्र ढकाललगायतले रामपुरको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
अधिवेशनले वृन्दादेवी भट्टराई आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हरिहर भण्डारी, महिला उपाध्यक्षमा मञ्जु बास्तोला, महासचिवमा गणेश सेढाइँ, उपमहासचिवमा देवराज खनाल, सचिवमा ध्रुव कँडेल, कोषाध्यक्षमा लक्ष्मीदेवी अर्याल र सहकोषाध्यक्षमा खुमबहादुर राना चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले संस्थापक अध्यक्ष श्रेष्ठ तथा सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाको योगदानको कदर गर्दै सम्मान गरेको थियो । विसं २०८० मङ्सिर ४ गते स्थापना भएको यस समाजमा हाल १२५ जना सदस्य आबद्ध छन् । पूर्वी पाल्पाका पाँच पालिकाबाट रुपन्देहीमा आएर बसोबास तथा व्यवसाय गरिरहेका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ ।
समाजले रुपन्देहीका विभिन्न पालिकाका जनप्रतिनिधिहरुसँग पनि अन्तक्र्रिया र सुझाव सङ्कलन गरेको छ । प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याललगायतसँग विभिन्न समयमा अन्तक्र्रिया गर्नुका साथै सुझाव सङ्कलन गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो ।

प्रतिक्रिया