बालेनसँगको भेट अनिश्चित भएपछि भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित

बालेनसँगको भेट अनिश्चित भएपछि भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित


काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँगको भेट अनिश्चित भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको छ ।

नयाँ सरकारका प्रथामिकता, द्वीपक्षीय सम्बन्ध तथा सम्भावित उच्चस्तरीय भ्रमणका विषयमा हुने भनिएको उनको भ्रमण हाललाई स्थगित भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनी आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमणमा काठमाडौं आउने तय भइसकेको थियो ।

भ्रमण तय भइसकेपछि पछिल्लो समय लिपुलेक पासको विषय पनि उठेको थियो । भारतले नेपालको लिपुलेक पास प्रयोग गरेर कैलाश मानसरोवरको यात्राका लागि आफ्ना नागरिकलाई आवेदन खुला गरेपछि नेपालले विरोध जनाएको थियो । यस विषयमा विवाद रहेका कारण पनि उनको भ्रमण रोकिएको हुनसक्ने आकलन गरिएको छ ।

तर, प्रधानमन्त्री शाहले भेट्न नचाहेका कारण उनको भ्रमण रोकिएको दाबी स्रोतको छ । यद्यपि, उनले यसअघि नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र सहायक विदेशमन्त्री कपुरलाई पनि भेटेका थिएनन्  ।