बालेनको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले भने – प्रधानन्यायाधीश सिफारिस ठीक लाग्यो

बालेनको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले भने – प्रधानन्यायाधीश सिफारिस ठीक लाग्यो


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन् । कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवमा बोल्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको प्रशंसा गरेका हुन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रधानमन्त्री बालेनले क्रमभन्दा माथि उठेर सक्षमतालाई ध्यानमा राख्दै प्रधानन्यायाधीश सिफारिस गरेकामा मुख्यमन्त्री यादवले प्रशंसा गरेका छन् ।

उनले प्रधानमन्त्री बालेनको निर्णय देशका लागि सौभाग्यपूर्ण साबित हुने उल्लेख गरे । वर्षौंदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशको लागि नयाँ आयाम थप्ने मुख्यमन्त्री यादवको भनाइ थियो ।

त्यस्तै, मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका हावी नहुनु पर्नेमा जोड दिए । उनले कानुनको कार्यान्वयनको बिचमा राजनीतिक हस्तक्षेप हुनुनपर्ने उल्लेख गरे । यादवले उच्च अदालत जनकपुरअन्तर्गत रहेका मधेश प्रदेशका आठवटै जिल्लाका इजलाशहरूलाई निष्पक्ष रूपमा फैसला सुनाउन आग्रह गरे । उनले अपराधीलाई कारवाही होस् र बेकसुरलाई सजाय नहोस् भन्नेमा दृढ रहन न्यायाधीशहरूसँग आग्रह गरे ।

कानुन दिवसको अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारीहरूको उपस्थितिमा जनकपुरधाममा न्यायिक महोत्सवको आयोजना गरिएको छ ।

आठवटा जिल्लाका १५०० भन्दा बढी अदालतमा काम गर्ने प्रत्यक्ष, अप्रत्यक्ष कर्मचारी, सर्वसाधारण, कानुन संकायका विद्यार्थीहरूको उपस्थिति छ ।