काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित कानुन दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।
उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भिर प्रश्न उठेको बताएकी छिन् ।
मल्लले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको माध्यम बनाउन खोजिएको संकेतसमेत गरिन् । उनले भनिन्,‘संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही पनि हुन सक्दैन । संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन । तर कतै अख्तियारी र विधिको प्रयोगको बाहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौम सत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अर्कमणीय बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न प्रयास त भएको छैन् ? भन्ने प्रश्न अहिले उठेको छ । न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्ने मुकुन्डो बनाउने प्रयासमा त लागिरहेको छैन् भन्ने पनि प्रश्न उठेको छ।’
उनले आगामी दिनमा कुनै पनि बहाना बनाएर न्यायको स्वतन्त्रता कमजोर पार्ने, संवैधानिक मूल्यहरूमाथि धराप थाप्ने र कानुनी राज्यलाई कमजोर बनाउने दुष्प्रयास हुन सक्ने आशंका व्यक्त गरिन् ।
उनले संविधानको नाम लिएर संविधानविरुद्ध काम गर्नु परिवर्तन वा क्रान्ति हुन नसक्ने बताउँदै उनले संविधानलाई बिरुप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रूपमा सिंर्गान नसकिने धारणा राखिन् । उनले विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध सबैले साहस, प्रतिबद्धता र आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइन् ।

प्रतिक्रिया