विजय थलापतिले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

विजय थलापतिले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ


एजेन्सी । भारतको तमिलनाडुमा उथलपुथल राजनीतिक घटनाक्रमका बीच अभिनेताबाट राजनेता बनेका सी जोसेफ विजय (विजय थलापति) मुख्यमन्त्री बनेका छन् ।

C. Joseph Vijay नेतृत्वको Tamilaga Vettri Kazhagam (टीभीके) का अध्यक्ष सी. जोसेफ विजयले आइतबार बिहान मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।

यससँगै राज्यमा करिब छ दशकदेखि जारी दुई प्रमुख द्रविड दल Dravida Munnetra Kazhagam (डीएमके) र All India Anna Dravida Munnetra Kazhagam (एआईएडीएमके) बीच पालैपालो सत्ता सञ्चालन हुँदै आएको क्रम अन्त्य भएको छ ।

Rajendra Vishwanath Arlekar ले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शनिबार २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित सांसदको समर्थन प्राप्त भएपछि विजयलाई सरकार गठनका लागि निमन्त्रणा गरिएको थियो । विजयले बिहान १० बजेपछि Jawaharlal Nehru Stadium मा शपथ लिएका हुन् । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् ।

विजयले कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले उनलाई मे १३ भित्र वा त्यसअघि नै विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् ।

मन्त्री पदको शपथ लिने नौ जनामा ‘बुसी’ एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी. वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए. राजमोहन, टी.के. प्रभु र एस. कीर्तना रहेका छन् ।

पेरम्बुर र तिरुची इस्ट दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित विजयसहित चेन्नईबाट कुल पाँच मन्त्री हुनेछन् । पश्चिमी क्षेत्रबाट दुई तथा दक्षिणी क्षेत्रबाट तीन मन्त्रीले प्रतिनिधित्व पाउनेछन् ।

हाल मन्त्रिपरिषद्मा एक महिला तथा अनुसूचित जाति (एससी) समुदायबाट एक प्रतिनिधि रहेका छन् ।

पछिल्ला केही दिनदेखि जारी राजनीतिक अन्योल शनिबार साँझ अन्त्य भएको थियो, जब वीसीके र आईयूएमएलले पनि समर्थन जनाएपछि टीभीकेलाई समर्थन गर्ने विधानसभा सदस्यको संख्या १२० पुगेको थियो ।

त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपालसँग भेट गरी कांग्रेस, सीपीआई, सीपीआई(एम), वीसीके र आईयूएमएलको समर्थनपत्र बुझाएका थिए ।

हालै सम्पन्न विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको थियो । यद्यपि वास्तविक संख्या १०७ मात्र हो, किनकि पार्टी अध्यक्ष विजय दुई स्थानबाट निर्वाचित भएकाले उनले एक सिट त्याग्नुपर्नेछ ।

पार्टीलाई कांग्रेसका पाँच विधायक तथा सीपीआई, सीपीआई(एम), वीसीके र आईयूएमएलका दुई–दुई विधायकको समर्थन प्राप्त भएको छ । यी सबै दल डीएमकेको नेतृत्वमा रहेको सेक्युलर प्रोग्रेसिभ अलायन्स (एसपीए) अन्तर्गत चुनाव लडेका थिए ।