काठमाडौं । संसद्को बजेट अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन नै विपक्षी दलहरूले अवरोध गरेका थिए । बैठक सुरु हुनासाथ सबै विपक्षी दलहरू आसनबाट उठेर अवरोध गरेका थिए ।
सभामुख डीपी अर्यालले आकस्मिक समयको व्यवस्था गरिएको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।
बैठकमा विपक्षी दलहरूले सभामुखको विषय उठाएका छन् । राप्रपा सांसद् खुश्वु ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकारसँग प्रश्न गरिन् । उनले समय नदिएरै बस्तीमा डोजर चलाएको भन्दै आपत्ति प्रकट गरिन् । उनले सुकुम्वासीको उद्धार नभएको भन्दै घर भत्काएर उद्धार नहुने बताइन् । उनले यो विषयमा सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताइन् । उनले सरकारले विधिको शासनअनुसार नभई कानुनको शासनअनुसार चल्न खोजेको टिप्पणी गरिन् ।
उनले सरकारले ल्याएका अध्यादेशका विषयमा पनि प्रश्न उठाइन् । उनले बाध्यात्मक अवस्थामा मात्र अध्यादेश ल्याउने विषयमा अहिले किन ल्याइयो भन्ने प्रश्न गरिन् ।
यस्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले बजेट निर्माणमा सरकारले विपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न गरे । उनले भने, ‘बजेट राष्ट्रिय बजेट आउने हो कि रास्वपाको ?’
बैठमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियामवलीको मस्यौदाका विषयमा प्रश्न उठाएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा नियामवली मूल कानुन हुने व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुने’ भनिएको छ ।
कांग्रेसका सचेतक निश्कल राईले भने, ‘यो नियमावली प्रतिनिधिसभा सदस्यको विशेषाधिकारको रूपमा रहने’ विषय पनि प्रतिनिधिसभा नियमावलीमा छ । अर्थात्, प्रतिनिधिसभा सदस्यको विशेषाधिकार अन्तर्गत प्रचलित अन्य कानूनले सांसद पद निलम्बन हुने भनेर राखेको प्रावधानलाई काट्ने मनसायले नियम २५९ ल्याएको देखिन्छ ।’

प्रतिक्रिया