जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको हो – सांसद पराजुली

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको हो – सांसद पराजुली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे ।

विगतको ३७ वर्षमा थिलथिलो बनाएको नेपालका सबै संरचना र सेवा प्रवाहबाट दलीयकरण अन्त्य गर्न आवश्यक रहेको बताउँदै नेता पराजुलीले विगतमा दलहरूले आफ्ना कार्यकर्ता र विचौलियामार्फत जनतालाई शोषण दमन गरेको आरोप लगाए ।

“हुन त यी विषयमा म आज धेरै चर्चा गर्न चाहन्न तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईंहरूले केसम्म गर्न भ्याउनुभयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न, आज उहाँहरूलाई न्याय दिनु छ,” नेता पराजुलीले विपक्षी दलहरूप्रति लक्षित गर्दै भने ।

नेता पराजुलीले विपक्षी दलहरूलाई अध्यादेशप्रति चित्त नबुझे प्रतिस्थापन विधेयकमा आफ्ना मत राख्न सकिने उल्लेख गरे । उनले भने, “सरकार निर्माण भएको एक सय दिन पनि पुगेको छैन । र सरकारले ती साँच्चै वास्तविक भूमिहीनमाथि आशा जगाएको छ, विश्वास जगाएको छ । हामी संसदीय अभ्यासमा साच्चै नयाँ छौँ । हामीले काम गर्दै गर्दा खेरी केही कुराहरू कमजोरी भयो होला वा केही बिरायौँ होला तर हामी स्वच्छ नैतिकतासहित जनताका पक्षमा काम गर्न आएका छौँ । नेपाली जनताको सपना पूरा गर्ने प्रयासमा लागि परेका छौँ ।”

नेता पराजुलीले पछिल्लो दिनमा सम्मानित न्यायालयलाई दूषित बनाउनका लागि विभिन्न प्रयास भएकाप्रति दुःख व्यक्त गरे । उनले संसारभर न्यायाधीशहरूको आफ्नै आचारसंहिता हुने र त्यसको पालना गर्नु सम्बन्धित न्यायाधीशको कर्तव्य हुने भए पनि दलको भागबन्डामा न्यायाधीश भएकाहरूले त्यसको पालना नगरेको टिप्पणी गरे । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्षित गर्दै उनले आफ्नो मर्यादा बिर्सेर व्यापारिक कार्यक्रममा सहभागी हुने र दलको भागबन्डामा न्यायाधीश बनेका व्यक्तिले सडकबाट तिहाइको सरकारलाई ललकारेकोप्रति आपत्ति जनाए ।

नेता पराजुलीले वर्तमान सरकारले सिमानामा आवतजावतलाई व्यवस्थित गर्ने प्रयास गरेकोप्रति विरोध जनाउनुको कुनै तर्क नभएको बताउँदै जनताको सहज दैनिकी र आन्तरिक बजार सुदृढीकरणका लागि उक्त प्रयास गरिएको अवगत गराए ।