सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक

सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक


सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर देखिएको छ । नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा ठूलो संख्यामा विद्यार्थी ‘ननग्रेडेड’ भएपछि शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उठेको छ ।

धनकौल गाउँपालिका शिक्षा शाखाका अनुसार नियमिततर्फ कुल १ सय ४१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । तीमध्ये केवल २० जना विद्यार्थी मात्र ‘ग्रेडेड’ भएका छन् भने १२१ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् ।

त्यस्तै, ग्रेडवृद्धितर्फ ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा जम्मा १ जना मात्र ‘ग्रेडेड’ भएका छन् भने ३८ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । पालिकामा तीनवटा सामुदायिक माध्यमिक बिद्यालय रहेका छन् ।

धनकौल बजारस्थित दुर्गा माध्यमिक विद्यालयबाट नियमिततर्फ ३४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३ जना मात्र ‘ग्रेडेड’ भएका छन् । ३१ जना विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । ग्रेडवृद्धितर्फ ७ जना सहभागी भएकोमा १ जना मात्र ‘ग्रेडेड’ भएका छन् ।

हरकटवास्थित जनता माध्यमिक विद्यालयको नतिजा अझ कमजोर देखिएको छ । उक्त विद्यालयबाट नियमिततर्फ ६५ जना विद्यार्थी सहभागी भएकोमा ७ जना मात्र ‘ग्रेडेड’ भएका छन् भने ५८ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ग्रेडवृद्धि परीक्षामा सहभागी २५ जना विद्यार्थी सबै ‘ननग्रेडेड’ भएका छन् ।

धोबिनियास्थित जनकल्याण माध्यमिक विद्यालयबाट ४२ जना विद्यार्थी नियमिततर्फ सहभागी भएकोमा १० जना मात्र ‘ग्रेडेड’ भएका छन् । बाँकी ३२ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ग्रेडवृद्धितर्फ सहभागी ७ जना विद्यार्थी पनि ‘ग्रेडेड’ हुन सकेनन् ।

नतिजा हेर्दा अधिकांश विद्यार्थी न्यूनतम शैक्षिक मापदण्ड पुरा गर्न असफल भएको स्पष्ट देखिन्छ । लगातार कमजोर नतिजाका कारण सामुदायिक विद्यालयहरूको शिक्षण प्रणाली, कक्षा सञ्चालन, नियमित उपस्थिति तथा शिक्षकको शैक्षिक जिम्मेवारीमाथि प्रश्न उठ्न थालेको छ ।

स्थानीय अभिभावकहरूले विद्यालयमा पढाइको गुणस्तर कमजोर रहेको, नियमित कक्षा प्रभावकारी रूपमा सञ्चालन नभएको तथा विद्यार्थीलाई पर्याप्त शैक्षिक मार्गदर्शन नदिइएको कारण यस्तो अवस्था आएको आरोप लगाएका छन् ।

शिक्षा शाखा प्रमुख युक्ति रामले एसईईमा निराशाजनक नतिजा आएपछि अब अन्तरक्रिया गरिने बताएका छन् । के कारण यस्तो नतिजा आयो यो बिषयमा छानबिन गर्ने उनले बताए । जिल्लामा १० हजार २१ जना बिद्यार्थी सहभागी भएकामा ४ हजार ३ सय ६५ जना ‘ननग्रेडेड’ भएका छन् ।