प्रतिपक्षीको बहिष्कार र अवरोधका बीच प्रतिनिधिसभाबाट पारित भयो नीति तथा कार्यक्रम

प्रतिपक्षीको बहिष्कार र अवरोधका बीच प्रतिनिधिसभाबाट पारित भयो नीति तथा कार्यक्रम


काठमाडौं । प्रतिपक्षीको अवरोधका बीच आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग राखेर प्रतिपक्षीले विरोध गर्दागर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहीबार साँझ नीति तथा कार्यक्रमबारे जवाफ दिन दिएका थिए । त्यसपश्चात् सभामुख डीपी अर्यालले निर्णायार्थ पेस गरेका थिए । जुन बहुमतले पारित भएको हो ।

बिहीबार नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह आफू पनि उपस्थित हुनुपर्ने भन्दै प्रतिपक्षी सांसदहरूले आ-आफ्नो कुर्सीबाट उठेर विरोध गरेका थिए ।

सभामुख अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जवाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेका थिए । प्रतिपक्षी सांसदहरू भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद् बैठक चल्न नदिने अडानमा रहेका थिए ।

अवरोधबीच सभामुखले बैठक अगाडि बढाएका थिए । शाह नेतृत्वको सरकार आएपछि पहिलोपटक सभामुख अर्यालले बलपूर्वक संसद् चलाएका हुन् ।

प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसद्‌मा गएनन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् छाडेर हिँडेका थिए । त्यस्तै ,विपक्षी दलका नेताले संसद्‌मा सम्बोधन गर्दा पनि अनुपस्थित थिए ।