सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिमाथि कांग्रेसको आशंका

सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिमाथि कांग्रेसको आशंका


काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस् ।’

पूर्वगृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढेको थियो । त्यसपछि गुरुङले गत ९ वैशाखमा नैतिकताको आधार देखाउँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर, राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले कुनै छानबिन समिति गठन नगरेपछि विपक्षी नेता आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गरे ।

संसद् बैठकलाई सम्बोधन गर्दै उनले ‘पूर्वगृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरुलाई भ्रष्टाचारको आरोपमा अल्गोरिदेमिक खेदाइ गर्ने प्रवृत्ति जायज छैन’ भन्दै सरकारको दोहोरो मापदण्डमाथि प्रश्न उठाए । साथै, उनले सदनबाटै ‘छानबिन समिति किन गठन भएन ?’ भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

आङ्देम्बेको यो अभिव्यक्तिपछि सरकार थप दबाबमा परेको थियो । त्यसको भोलिपल्टै बिहीबार सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको घोषणा गर्‍यो । समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समिति गठन भएपछि आङ्देम्बेले त्यसलाई सकारात्मक कदम भने पनि समितिको निष्पक्षतामै यसको विश्वसनीयता निर्भर रहने बताएका छन् । उनले समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।