कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी सभापति गगन थापालाई भेटेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापतिबीच संवाद भएको हो । हिजो मुख्यमन्त्री शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा भेट्न गएका थिए । एमाले अध्यक्ष ओलीसँग भएका संवाद र सन्देश लिएर मुख्यमन्त्री शाहले पार्टी सभापतिलाई भेट्न गएका थिए । उनीहरूबीच करिब ३० मिनेटभन्दा बढी समय छलफल भएको थियो । छलफलमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस(एमालेको सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भएको थियो ।
प्रतिपक्षी दलहरू कांग्रेस र नेकपासँग सहकार्य गरेर अघि बढ्ने विषयमा मुख्यमन्त्री शाह र एमाले अध्यक्ष ओलीबीच कुरा भएको थियो । ‘मुख्यमन्त्री शाहले प्रदेशको राजधानी कार्यान्वयनमा भइरहेको समस्याबारे पार्टी सभापतिज्यूलाई जानकारी गराउनुभएको थियो,’ कांग्रेस निकट स्रोतले भन्यो, ‘हिजो एमाले अध्यक्षज्यूसँग भएको कुराको विषयमा आज सभापतिज्यूसँग कुरा भयो ।’
एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्यको विषयमा मुख्यमन्त्री शाहसँग संवाद गरेका थिए । त्यस विषयमा अब सभापति गगन थापा र अध्यक्ष ओलीबीच निर्णायक छलफल हुने भएको छ । केही दिनभित्र गगन थापा र केपी ओलीबीच भेटघाट हुने र त्यसपछि सत्ता सहकार्यको टुंगो लाग्ने भएको छ । उता नेकपाले पनि एमालेसँग सहकार्यको संवाद चलाइरहेको छ ।

प्रतिक्रिया