काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा हुने कार्यालय सचिव डा। भिष्म अधिकारीले जानकारी दिएका छन् । जेठ २ गतेका लागि तय भएको बैठक तयारी अपूर्ण रहेको भन्दै आजका लागि सारेको हो । ११औँ महाधिवेशनपछि पार्टी नेताहरूको कार्यविभाजन हुन नसकेकाले आजको बैठकको मुख्य एजेण्डा यही विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।
एक पदाधिकारीका अनुसार, बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई पालिका स्तरको इन्चार्ज बनाएर जिम्मेवारी दिने तयारी गरेको छ । आगामी स्थानीय तह निर्वाचनमा पार्टीको संगठनात्मक क्षमता बलियो बनाउन केन्द्रीय सदस्यहरूलाई पालिका तहमा खटाउने र निर्देशन दिने योजना छ । यसैगरी केन्द्रीय विभाग तथा विभिन्न निकायमा समेत जिम्मेवारी बाँडफाँड गरिने छ । बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति तोक्ने पनि जनाइएको छ ।
यस्तै, सरकारले जबरजस्ती हटाएका सुकुम्बासी तथा भूमिहीनहरूको व्यवस्थापन, सरकारका पछिल्ला गतिविधि र यसले जनजीवनमा पारेको नकारात्मक प्रभावका बारेमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । एमालेले यो बैठकलाई आन्तरिक संगठन सुदृढीकरण र आगामी निर्वाचनको रणनीति तय गर्ने अवसरको रूपमा लिइएको छ ।

प्रतिक्रिया