सभापति गगन थापाका कांग्रेस मिलाउने ३ प्रस्ताव

सभापति गगन थापाका कांग्रेस मिलाउने ३ प्रस्ताव


काठमाडौ । नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधान र बृहत्तर एकताका लागि तीन प्रमुख प्रस्ताव अघि सारेका छन् ।  सुर्खेतबाट निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका बेला काठमाडौंमा इतरपक्षबाट छुट्टै पार्टी कार्यालयको खोजी भइरहेको खबर आयो । खड्काले विभाजनको संन्देश दिएपछि सभापति गगन थापाले काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबाट सबैलाई समेट्न तयार रहेको सन्देश दिएका छन् । उनले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो समूह अहिले पार्टीको सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।
थापाले वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेता तथा आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए ।
गगनका तीन प्रस्ताव

वरिष्ठ नेता बनाउने : विशेष महाधिवेशनमा भाग नलिएका पुराना तथा वरिष्ठ नेताहरूलाई वरिष्ठ नेता बनाउने ।

केन्द्रीय समितिमा स्थान : १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिमा समान अवसर र जिम्मेवारी दिने ।

समितिहरूमा सबै पक्षको सहभागिता : निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति र अनुशासन समितिलगायत महत्वपूर्ण समितिहरूमा संस्थापन इतर पक्षका नेताहरूको समेत सहभागिता सुनिश्चित गर्ने ।

सभापति थापाले यी प्रस्तावसहित विशेष महाधिवेशनमा भाग नलिएका नेताहरूलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । यसअनुसार उनले वैशाख २८ गते विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् । थापाले सार्वजनिक रूपमा भनेका छन्, “विशेष महाधिवेशनमा भाग लिएको थियो वा थिएन भन्ने आधारमा पार्टीभित्र कुनै पनि निर्णय गरिँदैन । प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थामा समेत यसलाई आधार बनाइने छैन ।”

यसका साथै उनले ३० वर्षमुनिका युवाहरूलाई खोजी–खोजी क्रियाशील सदस्यता दिनुपर्ने र पार्टीको सदस्यता व्यवस्थित तथा प्रविधिमैत्री बनाउन अद्यावधिक अभियानलाई जोड दिएका छन् । सभापति थापाको यी प्रस्तावलाई संस्थापन इतर पक्षका नेताहरू पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि लगायतले भने पर्याप्त नभएको प्रतिक्रिया दिएका छन् । उनीहरूले प्याकेज सहमतिमा जोड दिँदै ६०–४० को अनुपातमा प्रतिनिधित्व खोजिरहेका छन् ।

पार्टीभित्र १५औं महाधिवेशनको तयारीका क्रममा क्रियाशील सदस्यता अद्यावधिक र संगठनात्मक व्यवस्थालाई लिएर विवाद कायमै रहेको छ ।