काठमाडौं । समस्याग्रस्त सहकारीका ३७८ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीनवटा सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५ जना, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ ।
आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिको भनाइ छ ।
समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउन समस्याग्रस्त सहकारीहरूको ऋण असुली कार्यसमेत तीव्र पारिएको बताइन् ।

प्रतिक्रिया