संसद्‌मा अमरेश सिंह – सबै परम्परा भत्काउने भए सिंहदरबार पनि भत्काउँ

संसद्‌मा अमरेश सिंह – सबै परम्परा भत्काउने भए सिंहदरबार पनि भत्काउँ


काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्तमाथि छलफल चलिरहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित छन् । नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री बालेन्द्र शाह बालेन अनुपस्थित थिए ।

रास्वपा सरकारबाट यसरी संसदीय परम्परा तोडिँदै जाँदा रास्वपाकै सांसद अमरेश सिंह सरकारमाथि खनिएका छन् । बजेटका सिद्धान्तमाथि छलफलमा भाग लिन रोस्ट्रममा पुगेका उनले सुरुमा अर्थमन्त्रीको खोजी गरे । तर, उनले त्यहाँ अर्थमन्त्री देखेनन् । प्रतिनिधिसभा बैठक चल्दा कुनै एक जना मन्त्री अनिवार्य उपस्थिति हुनुपर्ने भएकाले आज बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित छन् । रास्वपा सांसद सिंहले भने, ‘बजेटका सिद्धान्तमाथि छलफल हुँदा अर्थमन्त्री हुनुपर्छ । परराष्ट्रमन्त्री भएर हुँदैन । बजेट परराष्ट्रमन्त्रीले बनाउने होइन ।’

प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बीचमै बैठक छोडेको र छलफलमा उपस्थित नभएको विषय संसद् अवरोधसम्म भएको थियो भने रास्वपा सरकारको संसद्प्रतिको निष्ठामा प्रश्न उठेको छ । यो विषयमा रास्वपाका सांसदहरू प्रतिक्रिया दिनसमेत आलटाल गरिरहेका बेला मंगलबार पाँचौपटक संसद् पुगेका अमरेश सरकारको रवैयामाथि खनिए । उनले परम्परा तोड्ने नाममा सबै तोड्न नहुने बताए । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै तोड्न हुँदैन । सबै परम्परा भत्काउने हो भने यो संसद्को औचित्य समाप्त हुन्छ । हाम्रो देश र संविधानले पार्लियामेन्ट्री सिस्टम अंगीकार गरेको छ । जहाँ सबै सांसद बराबर हुन्छन्, प्रश्न सरकारसँग गरिन्छ । जनताको कुरा सांसदले सरकारसँग राख्छन् ।’

उनले आफ्नो सांसदको २० वर्षको कार्यकालमा पहिलोपटक बजेटका सिद्धान्तमाथि छलफल हुँदा अर्थमन्त्री अनुपस्थित पाएको बताए । उनले भने, ‘२० वर्षको सांसदको कार्यकालमा पहिलोपटक अर्थमन्त्री बिहा बजेटका सिद्धान्तमाथि छलफल भएको पहिलोपटक देख्दै छु । यो कस्तो परम्परा सुरुवात हुँदै छ । नयाँको नाममा सबै चिज भत्काउने होइन । त्यसो हो भने सिंहदरबार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउँ, मन्त्री पद पनि भत्काउँ । अनुपस्थित औचित्यपूर्ण हुनुपर्छ ।’ उनले अर्थमन्त्रीको उपस्थितिका लाग रुलिङ गर्न माग गरे । उनले अर्थमन्त्रीको उपस्थिति बिना बजेटका सिद्धान्तमाथि छलफल हुन नसक्ने बताए ।

सांसद रेखा साहले पनि अर्थमन्त्रीको अनुपस्थितमा बोल्ने मन नभएको बताएकी छिन् ।