चीनले बोइङका २ सय हवाइजहाज खरिद गर्ने

चीनले बोइङका २ सय हवाइजहाज खरिद गर्ने


काठमाडौं । चीनले अमेरिकी विमाननिर्माता बोइङका २ सय वटा हवाइजहाज खरिद गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै भएको चीन भ्रमणका क्रममा यससम्बन्धी सहमति भएको थियो । ट्रम्पले नै यसबारे जानकारी दिएका थिए ।

अहिले चीनको वाणिज्य मन्त्रालयले पनि यसको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

गत हप्ता चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पबीच अन्य व्यावसायिक सहमति भएको थियो ।

विमान खरिद सम्झौताअनुसार अमेरिकाले चीनलाई विमानका इन्जिन उपकरण आपूर्तिको सुनिश्चितता दिएको चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार उल्लेख गरेको छ ।

त्यसैगरी दुवै देशबीच अक्टोबरमा भएको व्यापार युद्धविराम लम्ब्याउनसमेत सहमत भएका छन् । उनीहरुले ३० अर्ब डलरका वस्तुमा भन्सार छुटबारे समेत सहमति भएको छ ।

ट्रम्पको चीन भ्रमणको केही दिनपछि सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला उक्त कुरा पुष्टि भएको हो ।

“हामीले केही उत्कृष्ट व्यापार सम्झौता गरेका छौं, जसमा २०० भन्दा बढी बोइङ विमानको सम्झौता र ७५० वटासम्म विमान खरिद गर्ने वाचा समावेश छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ,” ट्रम्पले गत शुक्रबार चीन प्रस्थान गरेपछि एयर फोर्स वानमा पत्रकारहरूलाई भनेका थिए ।