काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यमा असहयोग गर्ने वडा सभापतिमाथि वैकल्पिक व्यवस्था गरिने चेतावनी दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले जेठ ६ गते जारी गरेको परिपत्रमार्फत देशभरका वडा कार्यसमितिका सभापतिलाई निर्धारित समयभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न निर्देशन दिएको हो।
पार्टीले विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिएको जनाएको छ। कांग्रेस विधान, २०१७ (एघारौं संशोधन) तथा केन्द्रीय कार्यसमितिको २०८२ चैत ७ गतेको निर्णयअनुसार प्रविधिको प्रयोगमार्फत सदस्यता अद्यावधिक कार्य भइरहेको उल्लेख गरिएको छ।
परिपत्रअनुसार वडा सभापतिले अनलाइन वा ‘एआई साथी’मार्फत सदस्यता अद्यावधिक गर्न सक्नेछन्। साथै, कांग्रेसको मोबाइल एप डाउनलोड गरी तोकिएको समय २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न भनिएको छ।
कांग्रेसले यस कार्यको अनुगमन सम्बन्धित पालिका कार्यसमितिले गर्ने जनाएको छ। साथै, सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिको हकमा विधानअनुसार वैकल्पिक व्यवस्था गरिने र त्यस्ता सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रमा पठाउनुपर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया