श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन्। बिहीबार संसद् बैठक सुरु हुनासाथ आकस्मिक सयम लिएर बोल्दै उनले संसद् नियमावलीको नियम १५ को (२) अनुसार संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यववस्था भए पनि प्रधानमन्त्रीले त्यसको वेवास्ता गरेको बताए।
‘मैले यही वैशाख २८ र २९ गते प्रधानमन्त्रीलाई केही प्रश्न राखेको थिएँ। त्यसको जवाफ आएन,’ राईले भने, ‘मेरा प्रश्न गृह, रक्षासहितका मन्त्रालयसँग सम्बन्धित थिए। ती मन्त्रालयको नेतृत्व पनि प्रधानमन्त्रीले नै गरेकाले उहाँले जवाफ दिनुपर्छ।’
आफूले राखेको दार्चुलाको लिपुलेकसहित सीमा सम्बन्धी प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहबाट चाहेको उनले बताए। ‘प्रधानमन्त्री संसद्मा आएर सांसदका प्रश्नको जबाफ दिनुपर्छ,’ उनले भने, ‘उहाँ यो संसद्को सदस्य हो कि छैन। यो देशमा संसद् छ कि छैनरु’ यदि प्रधानमन्त्री बालेन आफ्नो कर्तव्य पुरा गर्न नसक्ने भए मार्ग प्रसस्त गर्दा राम्रो हुने सुझाव उनले दिए। ‘यदि उहाँ कर्तव्य पुरा गर्न सक्नुहुन्न भने मार्ग प्रसस्त गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘संसद्प्रति जबाफदेही नहुँदा उहाँ कोप्रति जबाफदेही होरु कोहीप्रति त जवाफदेही हुनैपर्छ।’

प्रतिक्रिया