निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन : निश्कल

निलो रिबन बाँध्नेहरूले आज प्लेकार्डलाई अमर्यादित भन्न सुहाउँदैन : निश्कल

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो


काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनको स्मरण गराउँदै अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हिजोको ‘निलो स्कार्फ’ र आजको प्लेकार्ड आन्दोलनलाई एकै प्रकारले लिनुपर्ने बताए । सदनमा अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले देखाइरहेको प्लेकार्डलाई सभामुख अर्यालले ‘अमर्यादित’ भनेको प्रति असहमति जनाउँदै राईले भने, ‘आज सत्तामा हुनेहरू हिजो प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर बेल घेर्ने, बेलमै पलेटी कसेर बस्ने र पुस्तक पढ्ने गर्नुहुन्थ्यो। आफैँले गर्दा मर्यादित हुने, अरूले जबाफदेहिता खोज्दा अमर्यादित कसरी हुन्छ ? ’

सांसद राईले कांग्रेसले हिजोको त्यो कार्य पनि गलत थियो र आजको पनि सही छैन भन्ने निष्कर्ष निकालेको पनि बताए । अहिलेको परिस्थिति सरकारले सिर्जना गरेको बताएका हुन् । प्रधानमन्त्री र सरकारलाई सदनको नाम सुन्नासाथ ‘एलर्जी’ हुने गरेको बताउँदै राईले सरकार ‘क्रमभङ्गता’ को नाममा परम्पराहरू भत्काउन उद्धत रहेको बताए । ‘सरकार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ,’ राईले भने, ‘सत्तापक्षका साथीहरू सरकारको गल्तीमा रफू लगाउँदै हिँड्नुभएको छ।’
राईले सरकारले दुई–तिहाइको दम्भ देखाएर संसदीय व्यवस्था र अभ्यासलाई लल्कारिरहेको बताए । ‘जबसम्म संसदीय अभ्यासलाई अङ्कको दम्भले दबाउन खोजिन्छ, तबसम्म सदन मर्यादित हुन सक्दैन। आज सदनमा जे भइरहेको छ, त्यो सत्ताले छाती चौडा पारेर गर्वका साथ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो।’
राईले सभामुख अर्याललाई सदनको अभिभावकको रूपमा स्मरण गराउँदै राईले भने, ‘सदनको गरिमामा आँच आउनु तपाईंको प्रतिष्ठासँग जोडिन्छ। म सँग दुई–तिहाइ छ, म सदन मान्दिनँ भन्ने प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जबाफदेही बनाउन सभामुखले रुलिङ गर्नुपर्छ।’