ट्रम्प र पुटिन पछि बेइजिङ जाँदै पाकिस्तानी प्रधानमन्त्री सरिफ

ट्रम्प र पुटिन पछि बेइजिङ जाँदै पाकिस्तानी प्रधानमन्त्री सरिफ


काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मंगलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन् । यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् ।

अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताए । उनकाअनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन् ।

प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पारे । उनकाअनुसार चीनले युद्ध अन्त्य र शान्ति प्रवद्र्धनका लागि निष्पक्ष तथा सन्तुलित मध्यस्थताको भूमिकामा पाकिस्तानलाई समर्थन गरिरहेको छ ।

पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीचको तनावमा पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको छ । गत महिना इस्लामाबादमा वार्ता आयोजना गर्दै पाकिस्तानले आफूलाई कूटनीतिक समन्वयको केन्द्रका रूपमा प्रस्तुत गरेको थियो ।

यसैबीच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनिर बिहीबार तेहरान भ्रमणमा जाने कार्यक्रम रहेको इरानी मिडियाले जनाएको छ । यो भ्रमणलाई पनि क्षेत्रीय सुरक्षा संवादको भागका रूपमा हेरिएको छ ।

चीनले भने मध्यपूर्व सङ्कटमा हालसम्म तुलनात्मक रूपमा कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । फोन संवाद र सम्बन्धित खाडी देशका अधिकारीहरूसँगको बैठकमार्फत बेइजिङले संवादलाई निरन्तरता दिइरहेको छ ।

गत हप्ता बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा चीनले हर्मुज जलघाँटी खुला राख्न सहयोग गर्ने प्रस्ताव गरेको दाबी गरेका थिए । यो जलमार्ग युद्ध सुरु भएयता ऊर्जा आपूर्तिका लागि संवेदनशील विन्दु बनेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले यस महिनामा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्वमा कूटनीतिक प्रयास अझ बढाउन आग्रह गरेका थिए । उनकाअनुसार क्षेत्रीय सङ्कट समाधानका लागि थप सक्रिय मध्यस्थता आवश्यक छ ।

पछिल्ला दुई सातामा बेइजिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत भ्रमण तथा संवादलाई स्वागत गरेको छ । यसलाई चीनको बढ्दो कूटनीतिक सक्रियताको सङ्केतका रूपमा विश्लेषण गरिएको छ ।