ओलीलाई अष्टलक्ष्मीले भनिन् – पार्टी तपाईंको पेवा होइन, बिदा लिनुस्

ओलीलाई अष्टलक्ष्मीले भनिन् – पार्टी तपाईंको पेवा होइन, बिदा लिनुस्


काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जारी सचिवालय बैठकबाटै नेतृत्व छाड्न आग्रह गरेकी छन्।

शाक्यले गुण्डुमा एमाले सचिवालय बैठक जारी रहेका बेला सामाजिक सञ्जालमार्फत ओलीलाई अध्यक्ष पदबाट बिदा लिन अनुरोध गरेकी हुन्।

उनले लेखेकी छन्, ‘कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभाको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन: नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईँको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ ।’

शाक्यले थप लेखेकी छन्, ‘अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ।कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा नि:स्वार्थी भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।’