काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जेठको तेस्रो साता जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ । रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन् ।
भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ । खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए । तर, उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन् । रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ । सभापति लामिछाने पनि जेठ १८ कै आसपास भारत जाने तयारी रहेको स्रोतले बतायो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् । नयाँ सरकार गठनपश्चात दुई देशबीच आपसी सम्वन्ध चिसिन थालेको चर्चाबीच सभापति लामिछानेको यो भेटलाई महत्वका साथ हेरिएको छ । भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो ।
तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन । विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर छ । तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहेका छन् । शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए । तर, प्रधानमन्त्री शाहको भेट नपाउने भएपछि भ्रमण रद्द गरिएको थियो । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तलका विदेशी दूतलाई अत्यावश्यक अवस्थामा बाहेक नभेट्ने प्रोटोकल बनाएका छन् ।

प्रतिक्रिया