काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ । भारतको विदेश मन्त्रालयको निमन्त्रणमा लामिछाने आगामी जुन १–२ (जेठ १८–१९) मा भारतको दुईदिने भ्रमणमा जान लागेका हुन् ।
‘सत्तारुढ दलको प्रमुखको हैसियतमा भ्रमणमा जाने कुरा तय भएको छ, बाँकी विषय सार्वजनिक गर्ने पार्टीको तयारी छ,’ रास्वपा निकट स्रोतले भन्यो ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा करिब दुईतिहाई बहुमत प्राप्त गरेपछि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा रास्वपा सरकार गठन भएको छ । तर प्रधानमन्त्री बालेनको नभई सो पार्टीका प्रमुख लामिछानेको भारतको औपचारिक भ्रमणमा जाने तय भएको हो । सत्तामा आएपछि लामिछानेको यो पहिलो दक्षिणी छिमेक भ्रमण हुन लागेको छ ।
भ्रमणका क्रममा लामिछानेले उच्चस्तरीय भेटवार्ताहरू गर्नेछन् । रास्वपा स्रोतका अनुसार लामिछानेले भारतीय विदशेमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च सरकारी अधिकारीहरू र सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेट गर्ने तय भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि प्रयास भइरहेको भए पनि अझै निश्चित भएको छैन ।
भ्रमणका क्रममा लामिछाने भाजपा मुख्यालयको अवलोकन भ्रमणमा समेत जानेछन् । भाजपाले सत्तारुढ दलका प्रमुखहरूलाई भारत भ्रमणमा बोलाएर भाजपा मुख्यालयमा स्वागत गर्ने र पार्टीगत सम्बन्ध स्थापित गर्ने गरिरहेको छ ।
भाजपाले यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भारत भ्रमणमा बोलाएर पार्टी मुख्यालयको भ्रमण गराएको थियो ।
प्रधानमन्त्री बालेनको भ्रमण अनिश्चित
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी मोदीको निम्तो आइसकेको भए पनि अहिलेसम्म भ्रमणमा अनिश्चित छ । सरकार गठन भएको केही समयमा नै मोदीले बधाई सन्देश पठाउने क्रममा नै शाहलाई भारत भ्रमको निम्तोसमेत पठाएका थिए । यस विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससमा आयोजित हिन्द महासागरसम्बन्धी कार्यक्रमकमै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनै क्रममै खुलासा गरेका थिए । तर त्यसको केही समयपछि प्रधानमन्त्री शाहका निकट मानिने रास्वपा महामन्त्री भूपदेव शाहले कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा कम्तीमा एक वर्षसम्म कुनै पनि देशको भ्रमणमा जाने सम्भावना नरहेको बताएसँगै उनको भ्रमण हुने सम्भावना तत्काल नरहेको सन्देश गएको छ ।
साथै प्रधानमन्त्री शाहले उच्च तहका बाहेक कूटनीतिज्ञसँग पनि भेट नगर्ने भनेपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणसमेत स्थगित भएको थियो । यहीबीचमा भारतले नेपालको लिपुलेक नाका हुँदै पुनः चीनसँगको व्यापार थाल्ने र कैलाश मानसरोवर तिर्थाटन गराउने घोषणा गरेपछि सम्बन्धमा थप चिसोपन देखिएको छ । नेपालले दुवै देश (भारत र चीन) लाई कूटनीतिक नोट पठाएर त्यसको विरोध जनाएको छ ।
परराष्ट्रमन्त्रीको स्थगित
परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ । दिल्लीमा आयोजना हुने भनिएको ‘इन्टरनेसनल बिग क्याट एलाइन्स’ को शिखर सम्मेलनमा सहभागी हुन जाने तय भएको परराष्ट्रमन्त्री खनालको भ्रमण स्थगित भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त सम्मेलन आगामी जेठ १८ देखि २० सम्म आयोजना हुने र नेपालीसहित विश्वका ९० भन्दा धेरै मुलुकका चार सयभन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको थियो । ‘तर दक्षिण अफ्रिकामा देखिएको इबोला भाइरसका कारण त्यहाँका प्रतिनिधिहरू उपस्थित हुन नसक्ने भएपछि कार्यक्रम नै पछिका लागि सारिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । आयोजक संस्थाले समेत एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अफ्रिकी संघका अध्यक्ष तथा अफ्रिकी संघ आयोगसँगको परामर्शपछि चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलनलाई पछिल्लो मितिमा आयोजना गर्ने निर्णय गरिएको सन्दर्भमा, अफ्रिकी देशहरूसहित सबै ‘रेन्ज’ देशहरूको व्यापक र सक्रिय सहभागिता सुनिश्चित गर्न IBCA शिखर सम्मेलन पनि पछि सार्ने निर्णय गरिएको छ । सहभागी देशहरू तथा सरोकारवालासँग परामर्श गरेपछि सम्मेलनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिनेछ ।’
यो सम्मेलन चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलन सँगसँगै आयोजना गर्ने तयारी रहेको र ‘बिग क्याट’ प्रजातिहरू पाइने अफ्रिकी देशहरूमा यसमा महत्त्वपूर्ण साझेदार रहेका कारण उनीहरूको सहभागिताम हत्त्वपूर्ण हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया