सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पुर्‍याउनुपर्ने माग गरेकी छन् ।

आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन् ।

उनले भनिन्,‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो ।’

उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोक्ताको व्यवहार परिवर्तन गर्न नसक्ने जिकिर गरिन् । पर्याप्त कर वृद्धिले मात्र उपभोग घटाउन र त्यसबाट सिर्जित रोगको भार कम गर्न सकिने उनको भनाइ छ ।

सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम (करिब ४१ प्रतिशत) मात्र कर लगाइएको तथ्यांक प्रस्तुत गरिन् ।

उनले भनिन्, ‘सुर्तीजन्य पदार्थले क्यान्सर मात्र होइन, रक्तनली सम्बन्धी गम्भीर रोग (जस्तैः बर्जर्स डिजिज) निम्त्याउँछ । जसले गर्दा नागरिकको उत्पादकत्व घट्नुका साथै अपाङ्गता बढ्ने र राज्यमाथि थप आर्थिक भार पर्ने गरेको छ ।’