सर्लाही । रौतहट र सिन्धुलीको सीमामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा फेला परेका छन् ।
शनिबार साँझ करिब ४ बजे पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो डुबेर बेपत्ता भएका थिए ।
उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको पाइएको प्रहरीले जनाएको छ । घटनाको खबर राति करिब ८ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरीको टोली खटिएर खोजतलास सुरु गरेको थियो ।
उनीहरुसँगै नदीमा पुगेका सर्लाहीकै बरहथवा नगरपालिका – ५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल रहेका छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः१५ बजे रोहित महतोको शव बागमती नगरपालिका – ११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ नदीमा उतानो परेको अवस्थामा फेला परेको हो ।
यस्तै, आइतबार दिउँसो करिब १ः३० बजे गणेश महतोको शव पनि बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ ड्याम साइडको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया