जनकपुरधाम । सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को असन्तुष्टिका कारण मधेशमा सरकार विस्तारमा ढिलाइ भएको छ । नेकपाको असन्तुष्टिका कारण आज साँझ नेकपा एमालेबाट मन्त्रीको शपथ लिन बोलाइएका तीन जना सांसदहरू शपथ नै नलिई फर्केका छन् । एमालेबाट शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजै मन्त्री नियुक्त र शपथ खुवाउने तयारी थियो ।
जसका लागि मुख्यमन्त्री यादवले उनीहरूलाई आज साँझ ५ बजे बोलाएका थिए । नेकपाको असन्तुष्टिका बारेमा तीन दलबीच झन्डै अढाइ घण्टा वार्ता चलेको थियो । वार्तामा सहमतिका १३ बुँदे खाका तयार भएको छ । भोलि मंगलबार १३ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि मात्रै सरकार विस्तार गर्ने तयारी छ । यसअघि नौ बुँदे सहमति भएको थियो तर त्यसमा हस्ताक्षर भने भएको थिएन ।
त्यसैमा थपेर १३ बुँदे पुर्याइएको छ। सहमतिमा आगामी बजेटमा १ करोडभन्दा कमका योजना नराख्ने, खुला प्रतिस्पर्धा मार्फत योजना कार्यान्वयन गर्ने, मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाको मापदण्ड बनाउने, कानुनअनुसार म्याद सकिएका उपभोक्ता समितिका सम्पूर्ण चिठ्ठीहरूको रद्द गर्ने लगायत विषय उल्लेख छ ।यो सहमतिमा हस्ताक्षर भएपछि मंगलबार दिउँसो २ बजे एमालेबाट तीनसहित नेकपाबाट समेत अर्थमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने बताइएको छ ।

प्रतिक्रिया